Categories
समाचार

रोहिणीमा रेडक्रस द्धारा १२४ परिवारलाई राहत वितरण

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा बाढी तथा डुबानबाट प्रभावित १ सय २४ परिवारलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा धकधई, जिल्ला शाखा रुपन्देहीको सहयोगमा राहत वितरण गरिएको रेडक्रस उपशाखा धकधईका सभापति अनिल कुमार कौशलले जानकारी दिए । कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव,जिल्ला रेडक्रस रुपन्देहीका रुपमा हिराचन,रेडक्रस महामन्त्री आर.मोहम्मद खाँन, उपशाखा उपसभापति संजय गुप्ता, पूर्णिमा रौनियार, पशुपति यादव, गनपत गुप्ता, मदन पोखरेल, नजिर मुसलमन लगायतकको उपस्थिती रहेको थियो ।

Categories
समाचार

अस्पतालद्वारा व्यक्ति तथा संस्थालाई सम्मान

भैरहवा, १५ भदौ ।
भीम अस्पताल विकास समिति भैरहवा, रुपन्देहीले व्यक्ति तथा संघ–संस्थालाई सम्मान गरेको छ । अस्पताललाई कोभिड–१९ को उपचार र नियन्त्रणमा सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थालाई मंगलबार एक कार्यक्रमकाबीच खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको अस्पतालले जनाएको छ ।

कार्यक्रममा यस क्षेत्रका समाजसेवी, उद्योगी, सञ्चारकर्मी, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतलाई सम्मान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन् । व्यक्ति तथा संस्थालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सरकारी अस्पताल आम नागरिकको आस्थाको केन्द्र बन्दै गएको बताए ।, उनले विपद्को समयमा सरकारी संयन्त्रहरुले काम गर्दै आएको बताए । भीम् अस्पताल विकास समितिको नेतृत्व आइसकेपछि यो नेतृत्वले अस्पताललाई सकारात्मक रुपमा अगाडी बढाएको उनको भनाइ थियो । विभिन्न व्यक्ति तथा संघ–संस्थाले भीम अस्पताललाई सहयोग गरेर अतुलनीय योगदान पुर्याउनुभएको प्रजिअ तामाङले बताए । कोरोना भाइरस संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्डको पालना तथा अधिकतम परीक्षणको आवश्यकता रहेको उनले बताए । महामारीको रोकथामका लागि संयुक्त प्रयास र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।

अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले ५० बेड क्षमताको अस्पतालमा सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद १ सय जना कोरोना संक्रमित विरामीको उपचार गरिएको बताए । उनले असहज अवस्थामा अस्पताललाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गरे । उनले कोरोना महामारीको दोस्रो लहरमा नगद तथा स्वास्थ्य सामग्री/उपकरणसहित करिब ८५ लाख बराबरको सहयोग अस्पताललाई सहयोग प्रदान भएको बताए । अध्यक्ष भण्डारीले अस्पतालमा अक्सिजन प्लान्ट जडान र १० बेडको पीआसीयू बेड निर्माण गर्न लागिएको जानकारी दिए । त्यस्तै सुविधासम्पन्न प्रसुति गृह र ५० जना अट्ने विरामी कुरुवा प्रतिक्षालय बनाउन लागिएको बताए । ‘भीम अस्पतालमा निजी अस्पताल सरहको स्वास्थ्य उपचार सुविधा प्रदान गर्न अगाडी बढेका छौं, ’उनले भने ।

अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा नेकपा एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य हितराज पन्थीले महामारीले चुनौतीका साथै सम्भावनाको खोजीका लागि सहयोग गर्ने बताए । उनले चुनौतीकाबीच सम्भावना पनि खोज्नुपर्ने बताए । अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले कोरोना महामारीको रोकथामका लागि अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले अस्पताललाई सहयोग गर्न कांग्रेस पछाडी नहट्ने बताए । नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौड्यालले नारायण प्रसाद भण्डारीको सक्षम नेतृत्वले राम्रो काम गरेको र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।

भैरहवा मर्निङवाक ग्रुप (बीएमजी) का अध्यक्ष ओमकार गौचनले नारायण प्रसाद भण्डारी नेतृत्वको भीम अस्पताल विकास समितिले राम्रो काम गरेको बताए । अस्पताल विकास समितिका सदस्य संगिता रेग्मीको धन्यवाद ज्ञापन तथा अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Categories
राष्ट्रिय समाचार समाचार

बाढीप्रभावितको अवस्था बुझ्दै सांसद छविलाल विश्वकर्मा

भैरहवा, १४ भदौ ।
रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगतका बाढीप्रभावित क्षेत्रमा पुगेर स्थानीयवासीसंग भेटघाट गरेका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण समस्यामा पहेका रोहिणी गाउँपालिकाका विभिन्न वडावासीसँग भेट गरी विश्वकर्माले त्यहाँको अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

उनले रोहिणी गाउँपालिका–५ मा तुरीया खोलाले गरेको कटान र वरवा गाउँमा भएको डुवानले पारेको प्रभावको वारेमा स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसंग जानकारी लिएका छन् । सो अवसरमा वरवा गाउँका स्थानीयवासीले आफूहरुको ५०/६० विघा खेतीयोग्य जमिन धानवालीसहित बाढीबाट कटान भएको बताएका थिए ।  कटान क्षेत्रको अवलोकन गर्दै उनले जलउत्पन प्रकोप कार्यालयसंग समन्वय गरी नदी कटान समस्या समाधान गर्ने बताए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्माले रोहिणी गाउँपालिका भएर बग्ने रोहिणी खोला, वघेला खोला तथा महाउ खोलाले पुर्याएको क्षति र प्रभावको अवलोकन गरेका थिए । अवलोकनका क्रममा सडक डिभिजन कार्यालय बुटवलका प्राविधिक इञ्जिनियरको टोलीले नदीमा निर्माण भएको पुलको संरक्षण तथा नदी नियन्त्रणका लागि सडक डिभिजन कार्यालयकोतर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पूर्वमन्त्री विश्वकर्माले रोहिणी गाउँपालिका वडा नम्बर ५ र ६ को विष्णुपुरा, नौडिहवा, वोधवार, ईमलिहवा, बुचि र वरवाका बाढीप्रभावित स्थानीयवासीसंग भेट गरी राहत र उद्धारका लागि पहल गर्ने बताए । सो अवसरमा गाउँपालिका, रेडक्रस, अन्य सहयोगी संस्था र सरकारकोतर्फबाट राहत उपलब्ध गराउनका लागि प्रक्रृया अघि बढाइएको समेत उनले जानकारी दिए ।

दशगजा क्षेत्रको नेपाली भु–भागमा भएको डुबानको मूख्य कारण भारतीयले एकपक्षीय ढंगले निर्माण गरेको पूर्व–पश्चिम सडकखण्ड भएको बताउँदै विश्वकर्माले कुटनीतिक पहलका आधारमा त्यसलाई समाधान गरिने बताए ।

सो अवसरमा नेकपा एमालेका नेता गुणाखर भुसाल, पार्टीका जिल्ला सचिवालय सदस्य संजय गुप्ता, जिल्ला सदस्य नरसिंह चौधरी, पार्टीका नेता शैलेन्द्र उपाध्याय, सुनिल कौशल, मुस्ताक अहमद खाँ, अमिन तेली, चिन्ताहरण चौधरी लगायतको सहभागिता रहेको थियो ।

Categories
स्थानीय समाचार

बाढीप्रभावितलाई लायन्स रोहिणीद्वारा राहत प्रदान

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा बाढी तथा डुबानबाट प्रभावित १५ परिवारलाई राहत वितरण गरिएको छ । लायन्स क्लब अफ रोहिणीले राहत वितरण गरेको हो । रोहिणी-४ स्थित बिर्नीमा ७ र सेमरहवामा ८ परिवारलाई राहत सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष देवेन्द्र यादवले जानकारी दिए ।

Categories
राजनीति

राप्रपा रुपन्देहीको पदस्थापना कार्यक्रम सम्पन्न

भैरहवा, १० भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीको पदस्थापना कार्यक्रम बिहीबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा राप्रपा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलाई पदस्थापना गराइएको छ ।

पार्टीको वैशाख ४ गते सम्पन्न रुपन्देही जिल्ला अधिवेशनले सागर प्रताप राणाको अध्यक्षतामा सर्वसम्मत निर्वाचित गरेको ४१ सदस्यीय कार्यसमितिलाई पदस्थापना गराइएको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

राप्रपा रुपन्देहीले बिहीबार पदाधिकारी, सदस्य, सल्लाहकार समेत मनोनित गरेको छ । पार्टीको जिल्ला वरिष्ठ नेतामा चन्द्रशेखर पाण्डेय, उपाध्यक्षमा अजय कुमार गुप्ता, पदमा थापा, कोषाध्यक्षमा राजेश ढकाल, प्रवक्तामा पुनाराम पोखरेल, अधिवक्ता दिलिप कुमार मल्लिक, सह–सचिवमा कृष्ण गुरुङ, रफिक शाहलाई मनोनित गरिएको छ । त्यस्तै जिल्ला सदस्यमा लक्ष्मण पन्थी, शिव प्रसाद चौधरी, उमापति बरई, सूर्य बहादुर कार्की, राजन भुसाल र श्री सापकोटा रहेका छन् । त्यसै गरी सल्लाहकार समिति संयोजकमा कृष्ण प्रसाद भण्डारी, सदस्यमा सुग्रिम प्रसाद त्रिपाठी, अब्दुर रौफ, मधुसुधन सिंह र शेर बहादुर गौतम रहेका छन् ।

राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, पूर्व गृहमन्त्री तथा पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, केन्द्रीय कार्यसम्पादन समिति सदस्यद्वय कैलाश गुरुङ, ताहिर अलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन राप्रपाका युवा नेता शंकर खत्रीले गरेका थिए ।

कार्यक्रमममा नेकपा एमाले, नेपाली कांग्रेस परित्याग गरी एक दर्जन नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

Categories
कृषि स्थानीय समाचार

मर्चवार गहुँ जोन बनाउन प्रस्ताव

भैरहवा, १० भदौ /रुपन्देहीको मर्चवारमा १० वटा वडाकोमा गहुँ जोन बनाउने प्रस्ताव गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कोटहीमाई गाउँपालिका सम्मरीमाई गाउँपालिका र मर्चवारी गाउँपालिकालाई समेटनेगरी उक्त जोन प्रस्ताव गरिएको हो ।
कोटहीमाई गाउँपालिकाको दक्षिणी पुर्वि क्षेत्रमा रहेको वडा नम्बर ५, ६ र ७ मर्चवारी गाउँपालिकाको उत्तरी पुर्बी भुभागको वडा नम्बर ४, ५, ६ र ७, सम्मरीमाई गाउँपालिकाको उत्तरी पुर्वि भु–भागको वडा नम्बर ४, ६ र ७ चालु आर्थिक वर्षमा गहुँजोनमा परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन ईकाइ रुपन्देहीले जानकारी दिएको छ ।
यस्तै नवलपरासीकै प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ तथा सुस्ता गाउँपालिकाको वडा नम्बर ४ र ५ केराजोनको लागी प्रस्तावित गरिएको कृषि अधिकृत जोगेन्द्र कान्दुले जानकारी दिए ।
आर्थिक बर्ष २०७८÷०७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यन ईकाइ रुपन्देहीबाट सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
बिहिबार भैरहवामा एक कार्यक्रमको आयोजना गर्दै रुपन्देही र नवलपरासीमा सञ्चालन हुने कार्यक्रमहरु सार्वजनिक गरिएका हुन । परियोजनाका सूचना अधिकारी समेत रहेका कान्दुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यन ईकाइबाट सञ्चालन हुने कुल बजेट ८ करोड ६७ लाख २४ हजार रहेको बताए ।
स्थानिय तह मार्फत सञ्चालन हुने पकेट बजेट तर्फ रुपन्देही र नवलपरासीको गरि ८ करोड १४ लाख र कृषि ज्ञान केन्द्र मार्फत सञ्चालन हुने ब्लकको बजेट दुवै जिल्लामा गरि २ करोड ५५ लाख ९५ हजार रहेको छ ।
रुपन्देही जिल्लामा स्थानिय तहहरुबाट सञ्चालन हुने पकेट क्षेत्रहरुको हकमा गत बर्ष सञ्चालन भएका कृषि तर्फका कार्यक्रमहरुलाई निरन्तरता दिने र प्रत्येक पालिकालाइ १२ लाखका दरले बजेट बिनियोजन भएको छ ।
यस्तै बाख्रा कार्यक्रमलाई पनि निरन्तरता दिईदै ७ लाख रुपैया प्रत्येक पालिकालाई बिनियोजन भएको छ । माछा तर्फ भने कन्चन गाउँपालिका र रोहिणी गाउँपालिकालाई निरन्तरता दिदै ८/८ लाख रुपैया छुट्टयाईएको छ ।

रुपन्देहीमा नया पकेट तर्फ तरकारी खेती सञ्चालनको लागी बुटवल, देवदह, तिलोत्तमा, मायादेवी, शुद्धोधन, मर्चवारी र कोटहीमाई गाउँपालिकामा १२ लाखका दरले बिनियोजन भएको छ ।
धान पकेट क्षेत्र सञ्चालनको लागी लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी, गैडहवा, ओमसतिया र सम्मरीमाईलाई पनि १२ लाखका दरले बिनियोजन गरिएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगर पालिका र रोहिणी गाउँपालिकामा गहुँको पकेट बनाउन १२ लाखका दरले बिनियोजन भएको छ । मकैको लागी भने सैनामैना नगरपालिकालाई १२ लाख रुपैया छुट्टयाईएको छ ।
यस गरि बाख्राको नया पकेट बनाउनको लागी बुटवल, सियारी र ओमसतियामा १५ लाखका दरले बजेट बिनियोजन गरिएको कृषि अधिकृत जोगेन्द्र कान्दुले जनाए । माछा पकेटको लागी देवदह नगरपालिकालाइ १५ लाख पनि छुट्टयाएको उनले बताए ।
स्थानिय तह स्तरमा सञ्चालन हुने गरि पकेट क्षेत्र पहिचान गर्ने र कृषि तथा पशुको उत्पादनको लागी पकेटको विस्तार गर्दै ब्लकमा परिणत गर्ने एवम रितले ब्लकहरु मिलाएर जोनको निर्माण गर्ने र जोनको माध्यमबाट सुपरजोन बनाई कृषिजन्य उद्योगमा रुपान्तरित गर्ने परियोजनाको उद्देश्य रहेको छ ।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोच सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट संचालन हुने गरि सुरु भएको थियो ।
दश वर्ष परियोजना २०७३ साउनबाट सुरु भई २०८२ को असारमा सकिने परियोजना कार्यान्वयन ईकाइका प्रमुख नारायण काफ्लेले बताए ।
प्रमुख कृषि उपजहरुको विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यावसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने र बहुसरोकारवाला निकायहरु बीचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने परियोजनाका लक्ष्य रहेका छन् ।

Categories
गण्डकी प्रदेश स्वास्थ्य

प्रतिमान–नीमा स्मृति प्रतिष्ठान द्धारा गण्डकी प्रदेश सरकारलाई ८५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

भैरहवा, ९ भदौ ।

भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई ८५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गराएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्म बहादुर केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

अमेरिकास्थित प्रोजेक्ट होप र एअरलिंक, फ्लेक्सपर्ट डट ओरजी, हेनरी साइन केयर, मेड शेयर लगायत संघ–संस्थाको सहयोगमा प्रतिष्ठानले गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरेको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले गरेको काम प्रशंसनीय रहेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले संस्थाले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराएको स्वास्थ सामाग्रीले प्रदेशका विभिन्न क्षेत्रमा रहेका संक्रमितहरुको उपचारमा ठुलो सहयोग पुग्ने धारणा राख्दै आगामी दिनमा पनि संस्था र मन्त्रालयबीच सहकार्य गरी अघि बढ्न आफू तयार रहेको बताइन् ।

Categories
स्थानीय समाचार

साढे ५ लाख धरौटीमा गाउँपालिका अध्यक्ष शुक्ल रिहा

भैरहवा । जवरजस्ती करणी उद्योगको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई रुपन्देही जिल्ला अदालतले ५ लाख ५० हजार धरौटी बुझि रिहा गरेको छ । आज रुपन्देही जिल्ला अदालतका न्यायधिश मात्रिका प्रसाद मरासिनीको ईजलाशले धरौटी रकम लिई शुक्ललाई रिहा गरेको शुक्लका कानुनी सल्लाहकार सुनिल त्रिपाठीले जानकारी दिए । शुक्लबिरुद्ध उनकै गाउँपालिकाकी एक महिलाले जवरजस्ती करणी उद्योगमा जाहेरी दिए पछि रुपन्देही प्रहरीले साउन २८ गते उनलाई हिरासतमा लिएको थियो । प्रहरी हिरासतमा बसेको १३ औं दिनमा शुक्ल छुटेका हुन् । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो । शुक्लाको तर्फबाट कानून व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए । शुक्ल रिहा हुने खबर पाएर अदालत परिसरमा उनका समर्थकको ठूलो भिड जम्मा भएको थियो ।

Categories
लुम्बिनी प्रदेश स्थानीय समाचार

रोहिणी गाउँपालिकामा भदौ ८ गतेदेखि घर नक्सा अनिवार्य

भैरहवा, ७ भदौ ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले मंगलबारदेखि गाउँपालिका क्षेत्रमा घर एवं अन्य संरचनाको अनिवार्य नक्सा पास गर्नुपर्ने नियम बनाएको छ । सोमबार सूचना जारी गर्दै गाउँपालिकाले भदौ ८ गतेदेखि २०७९ असार मसान्तसम्ममा गाउँपालिकामा रहेका भवन, कलकारखाना एवं अन्य भौतिक संरचनाको नक्शा पास गराए जरिवाना नलाग्ने र सो पछि नियम अनुसार जरिवाना लाग्ने उल्लेख गरेको छ ।

रोहिणी गाउँपालिका क्षेत्र भित्र नक्सा अभिलेखीकरण गर्नुपर्ने नियम कार्यान्वयन हुनु अघि निर्माण सम्पन्न भएका र नक्सा पास हुन बाँकी भवन, कलकारखाना तथा संरचनाहरु अभिलेखीकरण असार मसान्तसम्म गरी सक्न गाउँपालिकाले अनुरोध गरेको छ । सो मिति भित्र अभिलेखीकरण गरे विलम्ब शुल्क नलाग्ने रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । यसका साथै अब नयाँ बन्ने भवन, कलकारखाना एवं अन्य संरचना बनाउन परे त्यसको अनिवार्य नक्सा पास गराउनुपर्ने न्यौपानेको भनाइ छ । अहिले नक्सापास गरी घर बनाए नियम अनुसारको दस्तुर मात्र लाग्ने र कानूनविपरीत गई संरचना बनाए दस्तरसंगै जरिवाना समेत लाग्ने भएकोले उनले समयमै नक्सा सम्बन्धि काम गर्न आग्रह गरे ।

साविकको धकधई, पोखरभिण्डी, बगहा, बोदवार, छिपागढ र पजरकट्टी गाविस मिलेर बनेको रोहिणी गाउँपालिकामा ७ हजार हाराहारीमा घरधुरी रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनले यस अघि अव्यवस्थित रुपमा बसोबास रहेको कारण विभिन्न विकास निर्माणका कामहरु गर्न कठिनाई हुने गरेको बताउँदै व्यवस्थित बसोबासको लागि घरनक्सा पास अपरिहार्य रहेको बताए । कानून अनुसार नक्सापास भए यसले नागरिक र स्वयं गाउँपालिकालाई पनि सहज हुने भएकोले यो अभियानमा समग्र रोहिणी गाउँपालिकावासीलाई सहभागि हुन आग्रह गरे ।

Categories
अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं ७, भदाै/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको हाे ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर रु ११३ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १२८, डिजल र मट्टीतेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो । निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर रु एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्यास अब रु एक हजार ४५० पुगेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।