Logo

‘काल’ बन्दै यार्सागुम्बा

Matribhumi Khabar २० जेष्ठ २०७८, बिहीबार १४:३३ मा प्रकाशित

दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्‍नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्‍न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ ।
आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ । अपिहिमाल गाउँपालिकाका स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि अहिले पाटनमा छन् । जेठ पहिलो साताबाट सङ्कलनमा हिँडेकामध्ये तीन साता नपुग्दै तीन जनाले ज्यान गुमाएका छन् ।
घरमा खान लगाउन नपुग्‍ने भएपछि लेकतिर हिँडेकामध्ये दुई महिला र एक पुरुषले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । अपिहिमाल-३ काटैका जयमती कार्कीको यही जेठ १७ गते गाउँ नजिकैको मिच्छा वनमा यार्सागुम्बा सङ्कलनका क्रममा भीरबाट लडेर ज्यान गयो । स्थानीयवासी निरुता कार्कीका अनुसार गाउँ नजिकैको यार्सागुम्बा पाइने वनमा जयमती गत जेठ १० गतेमात्रै यार्सागुम्बा सङ्कलन गर्न पाटन गएकी थिइन् ।
घरमा चार छोरी र एक छोरा छन् । यार्सागुम्बाबाट आर्थिक उपार्जन गर्ने उद्देश्यले लेक गएकी जयमतीको सङ्कलन गर्न गएको एक सातामै ज्यान गयो । अहिले परिवार पूरै शोकमा छ । आर्थिक उपार्जनको लागि गएका अधिकांश गाउँका स्थानीयवासी अहिले निराश बनेर घर फर्किएको निरुताले बताउनुभयो ।
गत साता अपिहिमाल-५ का चुन्धरी धामीको सातगङ्गा वनमा यार्सागुम्बा सङ्कलनका लागि गएको बेला पाटनमै मृत्यु भयो । सामान्य पेट दुख्ने बिरामी भएकी धामीको औषधि उपचार पाउन नसक्दा यार्सागुम्बा पाइने पाटनमै अकालमै मृत्यु भयो । लेकमै मृत्यु भएको दुई दिनपछि मात्रै परिवारले जानकारी पाएका थिए ।
यस्तै जेठ पहिलो साता अपिहिमाल-४ का मोहनसिह ठेकरे हिउँ पहिरोमा परी बेपत्ता भए । बेपत्ता ठेकरेको शव अझै फेला परेको छैन । यार्सागुम्बा सङ्कलन शुरु भएको तीन साताको अवधिमा अपिहिमालकै मात्र तीन जनाले ज्यान गुमाएका छन् ।

जिल्लाभरि अहिले हिमाली क्षेत्रका नागरिकहरु यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएका छन् तर यो पटक मौसममा देखिएको परिवर्तनले ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । ‘मान्छेको मृत्यु हुन थालेपछि धेरै यार्सागुम्बा सङ्कलक अहिले गाउँ फर्किरहेका छन्’, अपिहिमाल-२ का हरीशचन्द्रसिंह कार्कीले भने, ‘गाउँका अधिकांश मानिस फर्किएर गाउँमै योजनाका काममा खटिएका छन् । लेकमा यार्सा पाइँदैन । हिउँ पग्लिएको छैन, जोखिम मोल्नुभन्दा गाउँकै विकास निर्माणमा लाग्छौँ भनेर फर्किएका छन् ।
व्यास-१ का योगेश बोहरा यो वर्ष पाटनमा खासै यार्सागुम्बा नपाइने गरेको बताउँछन् । ‘मान्छे आउने जाने क्रम चलेको छ । मौसम पनि राम्रो छैन्’, उनले भने । यो वर्ष कोभिड-१९ को सङ्क्रमणका कारण अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छैन । विगतमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमति पत्र दिने गरेको थियो । सोहीअनुसार सङ्कलकहरु लेक जाने गरेका थिए ।
‘हिमाली क्षेत्रका स्थानीयवासीको आर्थिक स्रोतका रूपमा विकल्प नभएपछि अनुमतिबिनै यार्सागुम्बा सङ्कलन गर्नुपर्ने उनीहरूको बाध्यता हो’, अपिहिमाल-१ का जीवन लोथ्याल भन्‍छन्, ‘हिमाली क्षेत्रका जनताको आयको प्रमुख स्रोत भनेकै जडीबुटी हो । उनका अनुसार कोरोना महामारीका बीच पनि पेट पाल्नकै लागि पाटनतिर जानुपर्ने उनीहरुको रहर नभएर बाध्यता हो । ‘रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्‍ने चिन्ता अपिहिमालका बासिन्दालाई लागेको छ । यहाँ उत्पादन भएको खाद्यान्‍नले छ महिना पनि खान पुग्दैन ।’
यस्तै विचार अपिहिमालका धेरै नागरिकले राखेका छन् । गाउँमा रोजगारीको विकल्प नहुनु र आयस्रोत नहुँदा यार्सागुम्बा सङ्कलन गर्नुपरेको हो तर सङ्कलनका क्रममा भइरहेको घटनाका कारण अहिले धेरै निराश बनाएको छ । विगतमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु भएका नागरिकलाई बिमा उपलब्ध गराएको थियो । यो पटक भने कोरोनाका कारण अनुमति जारी गर्न रोक लगाइएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताए ।
जिल्लामा हरेक वर्ष यार्सागुम्बा सङ्कलनको क्रममा पाँच/सात जनाले अकालमै ज्यान गुमाउने गरेको जिल्ला प्रहरीको तथ्याङ्क छ । जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
2

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार