Categories
खेलकुद लुम्बिनी प्रदेश

शुक्रबार देखि भैरहवामा चित्रांश कप–२०७८ हुँदै

भैरहवा, १७ कात्तिक ।
चित्रांश युथ क्लबको आयोजना तथा चित्रगुप्त युवा सेवा समिति भैरहवाको सहयोगमा यही कात्तिक १९ गते शुक्रबार भैरहवामा दोस्रो संस्करणको चित्रांश कप–२०७८ हुने भएको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा बिहान ९ बजेदेखि सुरु हुने प्रतियोगितामा ४ वटा टिमको सहभागिता हुने आयोजकले बुधबार सिद्धार्थनगर–६ स्थित चित्रगुप्त मन्दिरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभले नकआउट क्रिकेट टुर्नामेन्टमा ३ वटा खेल हुने बताए । उनले प्रतियोगितामा रोयल नाइट्स, व्रेभ वारियर्स, चित्रांश सुपर किंग्स र कायस्थ नाइट राइडर्सको गरी चार वटा टिमबाट ५२ जना खेलाडीको सहभागिता रहने बताए । जसअन्तर्गत रोयल नाइट्सको कप्तानमा धिरज मल्लिक, वेभ वारियर्सको कप्तानमा अमित श्रीवास्तव, चित्रांश सुपर किंग्सको कप्तानमा दीपक मल्लिक र कायस्थ नाइट राइडर्सको कप्तानमा मनिष चौधरी रहेका छन् ।
‘चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गत वर्षदेखि क्रिकेट प्रतियोगिताको सुरुवात गरेका छौं, ’लाभले भने । प्रतियोगिता गर्न २ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए । प्रतियोगितामा चित्रांश परिवारका १५ वर्षदेखि ५५ वर्ष उमेर समूहका व्यक्ति सहभागि हुन सक्ने लाभको भनाइ छ । आइसीसी नियम अनुसार नै प्रतियोगिता सञ्चालन हुने आयोजकको भनाइ छ ।
प्रतियोगितामा विजेतालाई रनिंग ट्रफी, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, मोस्ट सिक्सेज, म्यान अफ द म्याच, गोल्ड म्याडल्स, सिल्भर म्याडल्स र सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरिने उनले बताए । प्रतियोगिता आयोजना गर्नका लागि व्रेभ कन्सट्रक्शन, एप्पल होलिडेज, ए.के. ग्राफिक्स, कर्ण फाइल उद्योगले सहयोग गरेका छन् । चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकले चित्रांश युथ क्लबले प्रतियोगिता आयोजना गर्नु सराहनीय भएको बताए । चित्रगुप्त युवा सेवा समितिका सचिव विवेकानन्द मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०७७ साल असोजमा स्थापना भएको चित्राशं युथ क्लबमा १५ जना सदस्य आबद्ध छन् ।