Categories
समाचार

भैरहवास्थित भीम अस्पताललाई ‘चाईल्ड भेन्टिलेटर’ हस्तान्तरण

भैरहवा । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई ‘चाईल्ड भेन्टिलेटर’ हस्तान्तरण गरेको छ । प्रतिष्ठानले अस्पताललाई करिब २१ लाख मूल्य बराबरको एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले भीम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले अस्पतालको विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पतालमा रुपन्देहीबाट मात्र नभइ विभिन्न जिल्लाबाट बिरामी आउने गरेका छन्, यो अस्पतालको विकासका लागि यहाँका नागरिक तथा संघ–संस्थाको सहयोग रहेको छ, ’बोहराले भने ।

अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालमा बच्चाको वार्ड स्थापना भए पनि बच्चाको लागि भेन्टिलेटर नभएको अवस्थामा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले सहयोग गर्नु प्रशसंनीय रहेको बताए । उनले बहुमुल्य वस्तु चाइल्ड भेन्टिलेटरले बच्चाको ज्यान बचाउन उपयोगी सामग्री भएको बताए । अहिले भेन्टिलेटरममा राखेर सर्पदशंका बिरामीहरुको पनि उपचार भइरहेको उनले जानकारी दिए । ‘सीमित स्रोतसाधनका साथ सञ्चालन भएको अस्पतालमा यस क्षेत्रका संघ–संस्था, राजनीतिक दल, समाजसेवी, उद्योगी, व्यवसायीले सहयोग गर्दै आउनुभएको छ, ’उनले भने ।

यस अघि पनि प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनटे«टर लगायत झण्डै एक गाडी स्वास्थ्य सामग्री प्रदान गरेको बताए । अध्यक्ष भण्डारीले अस्पताललाई आत्मनिर्भर र सक्षम बनाउन प्रतिष्ठानको सहयोगले ईट्टा थपिएको बताए । अस्पतालमा ५० बेड क्षमताको निर्णय भए पनि सो अनुसार जनशक्ति नभएको उनको भनाइ थियो । ‘अस्पतालमा १२० बेड राखेका छौं, तर यहाँ २५ बेडको मात्रै जनशक्ति छ, ’उनले भने । अस्पतालमा हालै अक्सिजन प्लान्ट पनि स्थापना गरिएको उनले बताए ।

प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले कोरोना महामारीको तेस्रो लहरबाट बालबालिकालाई हुन सक्ने जोखिमको न्यूनीकरण गर्नका लागि अस्पतालको माग अनुसार भेन्टिलेटर हस्तान्तरण गरिएको बताए । उनले प्रोजेक्ट होपको सहयोगमा लुम्बिनी प्रदेशमा रहेका १३ वटा सरकारी अस्पताल र सातवटै प्रदेशका स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ विरुद्ध लड्नका लागि करिब ११ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री व्यवस्था गरी हस्तान्तरण गरिएको बताए ।

अस्पतालका बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले चाइल्ड भेन्टिलेटर बच्चाहरुको लागि निकै उपयोगी हुने बताए । उनले भेन्टिलेटरबाट बच्चाको तौल अनुसार अक्सिजन दिन सकिने बताए । अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले स्वास्थ्य सेवामा समर्पित भएर प्रतिष्ठानले सहयोग गरेको बताए ।

कार्यक्रममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले कोभिड–१९ महामारीविरुद्ध लड्न सहयोग गरेको भन्दै अस्पताल विकास समितिले प्रतिष्ठानलाई सम्मान–पत्र प्रदान गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरालाई उक्त सम्मानपत्र हस्तान्तरण गरेका हुन्् ।