Categories
राजनीति राष्ट्रिय समाचार लुम्बिनी प्रदेश

सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली जनता अब्बल राष्ट्रवादी : गृहमन्त्री खाँण

भैरहवा, ७ मंसिर ।
गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली अब्बल राष्ट्रवादी रहेको बताएका छन् । उनले नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको बताए ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ मर्चवारीदेवी मन्दिरमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ ले मंगलबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले नेपालको सीमा रक्षा गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

‘सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैचा लगायतका स्थललाई मेरो हो भन्दै जोगाएकोले आज देश जोगिन पुगेको छ, ’उनले भने ।

हरेक नेपालीको जीवन रक्षा गर्नु नै नेपाली कांग्रेस पहिलो लक्ष्य राखेको गहृमन्त्री खाँणले बताए । वि.सं. २०४८ साल भन्दा पहिला विकासको गति धेरै न्यून रहे पनि २०४८ सालमा बहुदलीय व्यवस्था आएपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले व्यवस्थित तरिकाले अर्थतन्त्रलाई उठाउने काम गरेको उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खांणले भैरहवा–काठमाण्डौ विमान सेवा हप्तामा २ पटक मात्र सेवा दिने अवस्थाबाट नेपाली कांग्रेसले विभिन्न किसिमका संघर्ष गरी दैनिक सञ्चालन गर्ने व्यवस्थापन गरेको बताए ।

वि.सं. २०५१ सालमा नेपाली कांग्रेसको आन्तरिक द्वन्दले कम्युनिष्टले सरकार बनाउन सफल भएको र जसले गर्दा नेपालको अर्थनीति बिग्रेको उनले बताए । त्यतिबेला कम्युनिष्टको सरकार आएपछि विकासको गति र देशमा आउने लगानी सबैमा बाधा परेको गृहमन्त्री खाँणको भनाइ थियो ।
नेपालमा शान्ती ब्यवस्था गराउने तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले अघि बढेर माओवादीसँग वार्ता गरी नेपाललाई पुनः विकासको गतिमा ल्याएको उनले बताए ।

‘मर्चवारको विकास पनि द्वन्दकालमा नेपालको आवस्था जस्तै रहेको थियो धेरै पटकको प्रयासपछि मर्चवारमा नेपाली कांग्रेसमाथि विश्वास गरी नेपाली कांग्रेसलाई अवसर दिनासाथ मर्चवार पनि विकासको लहरमा बढेको छ, ’उनले भने ।

मर्चवारको अब शिक्षा, कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन, मठमन्दिर क्षेत्र लगायत अन्य क्षेत्रको कागजमा नभई देखिने विकास हुने उनले आश्वासन दिए ।

आगामाी दिनमा पनि न कांग्रेसमाथि विश्वास गरी अवसर दिएमा पुनः मर्चवारको लागि गुरुयोजना निर्माण गरी विकासको कार्य अगाडी बढाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमा प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले मर्चवार क्षेत्रमा कृषिको सम्भावना रहेकाले यो क्षेत्रको विकासका लागि सरकारको अझै ध्यान जानुपर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खानले मर्चवार क्षेत्रमा रहेको विभिन्न भन्सार कार्यालय द्वन्दकालदेखि बन्द भएकोले मर्चवारको अर्थतन्त्रमा ठुलो क्षति भएको  बताए ।

प्रदेशसभा सदस्य अष्ठभुजा पाठकले मर्चवारको मुख्य सडक जीर्ण अवस्थमा रहेकोले संघीय सरकारले तत्काल पहल गरी निर्माण गर्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का सभापति मुकेश यादवको अध्यक्षता तथा महासमिति सदस्य रामप्रसाद हरिजनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।