Categories
राजनीति लुम्बिनी प्रदेश

महाधिवेशन प्रतिनिधिमा अब्दुल रज्जाक सर्वसम्मत चयन

भैरहवा, ७ मंसिर । नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । सोमबार उनी रुपन्देही क्षेत्र नम्बर १ बाट उनी सर्वसम्मत चयन भएको मतदान अधिकृत ओमप्रकाश अर्यालले बताए ।

रज्जाक अल्पसंख्यक (मुस्लिम) कोटामा महाधिवेशन प्रतिनिधिमा चयन भएको निर्वाचन समितिले जनाएको छ । उनी रुपन्देही क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित भइ खानेपानी तथा सरसफाई राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । रज्जाक नेपाली कांग्रेसको सभापतिमा लगातार दुईपटक निर्वाचित भइसकेका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा देउवा निकट हिरा बहादुर खत्री निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार विश्वनाथ यादवलाई पराजित गर्दै खत्री क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।

खत्री देवदह नगरपालिकाका प्रमुख समेत हुन् । त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ (क) र १ (ख) पनि पार्टी सभापति रज्जाक निकट उम्मेदवाहरु विजयी भएका थिए ।